काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको विधान उल्लंघन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका छन् ।
अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै रावलले पटक पटक पार्टीका उल्लंघन गर्ने अध्यक्षले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका हुन् ।
उनले पार्टी अध्यक्ष ओलीलाई नै विधान उल्लंघन गरेकोमा स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले विधान संशोधन राष्ट्रिय महाधिवेशनले मात्र गर्न सक्ने भएपनि उनले आफ्नो गुट राखेर संशोधन गरेको बताए ।
उनले भने, ‘विधान विपरीत धारा उल्लंघन गरेर केन्द्रीय कमिटीमा थपेको छ । नेकपा एमालेको सदस्य नभएको व्यक्तिलाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्न पाइन्छ ? यसरी विधान विपरीत गर्ने व्यक्तिले स्पष्टीकरण सोध्दा लाज लाग्नुपर्ने होइन ? केपी ओलीले पठाएको स्पष्टीकरण पार्टीको होइन । त्यो अवैध बैठकले यस्तो गर्न सक्दैन ।’
विगतमा ओलीले गरेका कामको स्मरण गर्दै रावलले भने, ‘माओवादी र एमाले एकतामा हस्ताक्षर गर्ने ओली हुन् । गत बैशाखमा पार्टी फुटाउन अध्यादेश ल्याउनुभयो हामी स्थायी कमिटीको सदस्यले त्यो अध्यादेश रोक्यौं । भारतसँग मिलेर हटाउन लाग्यो भन्नुभयो को हो भनेर बैठकमा भन्नु भन्दा उहाँले भन्नु भएन । उहाँको त्यो षड्यन्त्र मात्र थियो । कार्यकर्ता ढाँट्ने र एकता भाँड्ने षड्यन्त्र थियो भन्ने । भदौ २६ गते निर्णय भयो पार्टी विधि अनुसार चल्नेछ भनेर तर २४ घण्टा नबित्दै संवैधानिक परिषदको बैठक बोलाउनु भएछ । निर्लज्ज भएर बोलाउनु भयो । पुस ५ गते म पाँच वर्षको प्रधानमन्त्री भन्दै भाषण गर्नेले संसद विघटन गर्नुभयो । स्थायी कमिटी बैठक बसिरहेका बेला विघटन गर्नुभयो । धेरै ठूलो दवावपछि प्रतिनिधिसभा पुनःस्थापना त भयो । उहाँलाई असह्य भयो । उहाँलाई त्यसको चिन्ता लागेछ ।’
रावलले फागुन २८ को यो विधानको धारा १४ विपरित आफ्ना गुटकालाई बोलाएर आफूहरुलाई जानकारी नदिई पार्टी फुटाउने ओलीले षड्यन्त्र गरेका बताए ।