काठमाडौं । नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले पार्टीले मागेको स्पष्टीकरण बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन् ।
उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो । जवाफमा वरिष्ठ नेता नेपालले पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका हुन् ।
जवाफमा नेपालले भनेका छन्, ‘यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’







