सिरहा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । शुक्रबार बिहान सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाटमा नेता सिंहले सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो खिच्न रोक भन्ने हिजोको एक कार्यक्रमको घटनाले त्यसलाई पुष्टि गरेको बताएका हुन् ।
उनले ओलीमा तानाशाह चरित्र देखिदै जाँदा अहिले फरक मत राख्ने एमाले भित्रको एउटा समूह र माओवादी केन्द्रले सुरुका दिनमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणति भएको बताए ।
उनले एकपछि अर्को तानाशाही प्रकृतिका बिधेक ल्याउँदा ओली प्रवृत्तिको बिरोध गर्न नसक्नेले अहिले पछुताउनुको विकल्प नभएको बताए । फरक प्रसंगमा नेता सिंहले अहिले जसपाले नैतिकताहीन सरकारसँग माग पूरा गर भनेर भन्नू गलत भएको बताए ।
उनले सही समयमा आफ्ना मुद्दा उठाउन नसक्ने अनि असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न जसपालाई आग्रह गरे । उनले भने, ‘हिजो कोही मन्त्री बन्ने कोही सरकारलाई समर्थन दिएर बस्ने । दुई तिहाई हुँदा अहिले उठाएका मुद्दा समाधान गर्न ध्यान नदिएको भन्दै जिम्मेवार बन्नुपर्ने होइन र ?’
मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै नेता सिंहले यो वा त्यो बहानाबाजी नगरी ओली विदा गर्नेबारे प्रष्ट हुन जसपाका नेतालाई अपील गरे ।
जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ त्यही दिनबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ भन्दै नेता सिंहले कांग्रेस संसदीय प्रक्रियाबाटै अगाडि बढ्ने बताए ।