काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेलम्ची खानेपानीका बारेमा माथापच्ची नगर्न आग्रह गरेका छन् । सोमबार ट्वीट गर्दै भट्टराईले मेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुसीको कुरा भएपनि त्यसमा माथापच्ची गर्नु आवश्यक नभएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अन्ततःमेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुसीको कुरा हो । पचास बर्षदेखिको सपना २० बर्षको उतारचढाव र रू ३० अर्ब खर्चपछि पूरा हुँदा सम्बन्धित सबैले जश/अपजश पाउने नै छन्, त्यसमा माथापच्ची नगरौं ! मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६बाँकी छन् ! ती पूरा गरौं,अनि हासौं !’

मेलम्ची खानेपानीको आयोजना लिएर अहिले जस कसले लिने भन्ने होडबाजी चलेको छ । वर्तमान केपी ओली सरकार आफ्नो कारण आयोजना निर्माण सम्पन्न भएको बताउँदै आएको छ भने नेपाली कांग्रेसले सन्तनेता कृष्णप्रसाद भट्टराईको नामसमेत नलिइएको भन्दै आपत्ति जनाउँदै आएको छ ।
यसैबीच, लामो प्रतिक्षापछि आइतबारदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ । अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिएका छन् । पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ । सकेसम्म दैनिक रुपमा विवरण गर्ने लिमिटेडको योजना छ ।