
काठमाडौं । साधना साहित्य मञ्चले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी मञ्चले वार्षिकोत्सव मनाएको हो । ‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मूल नारा बनाएको संस्थाको वार्षिकोत्सव समारोहमा एक दर्जन भन्दाबढी स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
त्यस्तै प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूले साहित्यका जुनसुकै विधामा कलम चलाएपनि नेपाली भाषा साहित्यलाई न्याय दिँदै जगेर्ना गर्नुपर्ने र स्रष्टाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि चन्द्रप्रसाद न्यौपानेले जुनसुकै लेखन गर्दा अध्ययन गर्नुपर्ने जरुरत भएको भन्दै त्यसबाट अरू भन्दा पृथक बन्नुपर्ने बताए ।
स्रष्टाको सृजना हरेक पलमा नौलो हुनुपर्ने, पृथक हुनुपर्ने सहितको नारा अत्यन्तै सान्दर्भिक रहेको भनेर वक्ताहरुबाट प्रशंसा गरिएको थियो । संस्थाका अध्यक्ष असन्तुष्ट जलनले भने विदेशी मूलुकमा रहेकाले आफ्नो मन्तव्य फोनमार्फतनै दिएका थिए ।
साधना साहित्य मञ्चले साहित्य साथै कला संस्कृतिको संरक्षण तथा स्रष्टा प्रोत्साहनको लागि उल्लेखनीय भूमिका खेलेको स्पष्ट देखिएको थियोे जहाँ लोक दोहोरी गीत पनि प्रस्तुत गरिएको थियो र गीत क्षेत्रका व्यक्तित्वहरू लगायत साहित्यिक स्रष्टाहरू करिब डेढ दर्जन बढी सम्मानित भएका थिए । जहाँ प्रमुख अतिथिमा रहेका न्यौपाने समेत परेका थिए ।
कार्यक्रममा साहित्यकारहरू प्रा.डा गार्गी शर्मा, डा.बिदुर चालिसे, कवि तथा समालोचक नेत्र एटम र गजलकार पोष्टराज चापागाईंलगायत सहभागी थिए । संस्थाकी कोषाध्यक्ष उमा दाहालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन संस्थाकै सक्रिय सदस्य रीता दाहालले गरेकी थिइन् भने वार्षिक प्रतिवेदन संस्थाकै सक्रिय सदस्य साईमना श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।