डा. गोविन्दशरण उपाध्याय ।
अर्थमूलौ धर्मकामौ (९१चा.सु) धर्म र काम अर्थमा निर्भर छ |
हामीले अर्थ शब्दको अर्थ बुझिसकेको अवस्था छ | अर्थ शब्दले केवल धनसम्पत्तिमात्र होइन मानसिक, बौद्धिक तथा भौतिक प्रयोजनआदि पनि जनाउँछ भन्ने हामीले पहिले नै बुझिसकेका छौँ | के धनको अभावमा सद्गुण, सदाचार, दैविसम्पदा असंभव छ ? के धन नभई मान्छेले काम (कार्य) काम (प्रेम, विवाह, यौनकर्म) गर्न सक्दैन त् ? हाम्रो मनमा यी प्रश्नहरू आउनुनै पर्छ | धर्म, अर्थ र काम केही शास्त्रहरूले यी त्रिवर्गको मात्र उल्लेख गरेका छन् | उपनिषद्कालमा मोक्ष अर्थात् आध्यात्मिक स्वास्थ्य समेत समावेस गरिनु उचित नै देखिन्छ |
संस्कृतको प्रसिद्ध आप्तेको शब्दकोशले संस्कृतमा धर्म शब्दले कसेकम आठबटा मूलार्थ समेटेको देखिन्छ जसअनुसार व्यक्ति वा वस्तुमा सधैं रहिरहने मूलगुण, प्रकृति स्वभाव, स्वाभाविक गुण वा सहज वृत्ति, स्वर्ग वा नर्क प्राप्त गर्न/गराउन सकिने निर्धारित कर्म, कुनै व्यक्ति वा समाजका लागि सामाजिक रूपमा तोकिएको कर्म, असल आचरण, सदाचार, नियम, सत्कर्म वा पुण्य, ईश्वर प्राप्ति वा मोक्षप्राप्तिका लागि गरिने शास्त्रले निर्धारित गरेका कर्म, मत वा सम्प्रदाय आदि | धर्म शब्दले रिलिजन पनि प्रतिनिधित्व गर्छ भनेर लोकमान्यता अनुसार अन्तिममा स्वीकार गरिएको छ |
अव काम शब्द वारे नेपाली वृहद्शब्दकोशले खोजेको अर्थ बुझौं | १. काम अर्थात् विषयभोग वा सुखसुविधाको इच्छा, चाहना, वासना, कामना २. स्त्रीपुरुष बीचको सहवास, मैथुनको इच्छा, ३. कामदेव ४. चारपुरुषार्थ ५. कर्म, हातखुट्टा चलाएर गरिने कार्य, उद्योग-धन्दा, गर्नुपर्ने कर्म कार्य, व्यापार कामको अवस्था अर्थात् कम्प | यसरी काम शब्दलाई केवल सम्भोगसंग जोड्नु वा यौनजीवनसंग जोडेर बुझ्ने आजको परम्पराका आधारमा अर्थ नै काम तथा धर्मको आधार हो भनेर बुझियो भने अनर्थ हुन्छ |
असलमा. धर्म, अर्थ र काम एकआपसमा जोडिएका छन् | सद्गुणीले विश्वास जित्छ, विश्वासीले धनार्जन गर्छ | जव धन हुन्छ उद्योगसहित विवाहआदिको लागि परिस्थिति अनुकुल बन्छ | काम (यौन) जीवनको अनिवार्य र सबैभन्दा महत्वपूर्ण कार्य हो किनभने यसले मानवजीवनको निरन्तरतालाई सुनिश्चित गर्छ | धनले विवाहका लागि सहज वातावरणको निर्माण गर्छ, उद्योगहरू स्थापित गर्न र तलवआदि प्रदान गर्न सजिलो बनाउँछ | तेसैके अर्थ नै कामको मूलमा हुन्छ | तर धनवाहेक कामको अस्तित्व नै हुँदैन भनेर बुझ्नु उचित हुँदैन | यहाँ धर्म शब्दले गुरुकुल शिक्षा र तेहा सिकेको शीप भन्ने बुझ्नुपर्छ |
गुरुकुलबाट दीक्षित भएका स्नातक सदाचारी हुन्छन्, विश्वनीय हुन्छन् र तेही सीपका कारण धन आर्जन गर्न सफल हुन्छन् | चाणक्यले अर्थशास्त्रमा बताएअनुसार गुरुकुलोपरुद्रबाल..(३.११.१७) अर्थात् राजाले गरीव बालबालिकालाई धन दिएर शिक्षाको व्यबस्था गर्नुपर्छ | यहाँ गुरुकुलमा शिक्षा निशुल्क हुन्छ तर सक्नेले गुरुकुलमा दान दिएर आफ्ना बालबालिकालाई पढाउँने व्यबस्था गर्नुपर्छ नसक्नेलाई राज्यले | शिक्षाका अर्थमा धन धर्मको मूल हो भनिएको हो | साथै, आप्टेले धर्म भनेर तोकेका कर्महरू सम्पदान गर्न पनि धन नै चाहिन्छ भने काम भनेर तोकेका विषयहरू सम्पदान गर्न पनि धन अर्थात् अर्थ अर्थात् उचित आशय चाहिन्छ |तेसैले धनले धर्म हुन्छ र धार्मिक व्यक्तिको सर्वत्र सम्मान हुन्छ भन्ने तत्थ्य स्थापित हुन्छ भनेर स्वीकार्नुपर्छ |
यहाँ हामीले बुझ्नु पर्ने तत्थ्य के हो भने धर्म साध्य हो तर काम र अर्थ साधन हुन् | अर्थले जीवनलाई सहज, सरल, सम्मानित, धार्मिक तथा यशस्वी बनाउँन मदत गर्छ तर ठीक एस विपरित आसुरी गुणहरू अर्थ असहज, क्रूर, बलात्कारी, अधार्मिक बनाउँन पनि सक्छ | तर धार्मिक व्यक्ति (सदाचारी, सद्गुणी, आचारवान) व्यक्ति कुनै पनि परिस्थितिमा अधार्मिक बन्नै सक्दैन किनभने सदाचार उसको मूल प्रबृत्ति, स्वभाव वा व्यक्तित्व हुन्छ | तेसैले नीतिकारहरूले शिक्षा र धन सधैं अजरअमर छु भनेर आर्जन गर्नु तर मृत्युले जुनसुकै वेला मेरो अन्त्य गर्न सक्छ भन्ने जानेर असलकर्म (सदाचारको पालना) गर्नु भनेर सचेत गराएका हुन् |
स्वस्ति अस्तु