काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले महानगरीय प्रहरी परिसर ललितपुरले चितवनको भरतपुर महानगरपालिका–१० बाट शनिबार पक्राउ गरेको थियो ।
उनले संस्थाका पदाधिकारी तथा सर्वसाधरणलाई संस्थामा रकम जम्मा गराई बढी ब्याज दिने आश्वासन आश्वासन दिएर झन्डै ८० करोड रकम ठगी गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिएका छन् । अहिलेसम्म उनीविरूद्ध ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको ललितपुर परिसरमा जाहेरी परेको छ ।
तर उनले योभन्दा पनि बढी ठगी गरिसकेको हुन पर्ने ललितपुर परिसरले आशंका गरेको छ । उनी केही दिनअघि आफू फस्ने देखेपछि फरार भएका थिए । उनीविरूद्ध संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत ५ गते जाहेरी दिएका थिए । उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले उक्त सहकारीबाट पीडित भएका भए जाहेरी दिन आउनसमेत आग्रह गरेको छ ।