काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । मंगलवार नेपाल पक्षको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय कमिटी गठन गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इञ्चार्जको जिम्मा दिएका थिए । त्यसपछि आक्रोशित बनेको नेपाल पक्षले समानान्तर कमिटी गठन गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ नेता नेपालले आफूहरुले पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउन अभियान चलाएको बताएका छन् ।
कमिटीको सह–संयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । त्यस्तै कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् ।
नेपाल पक्षले यसअघिनै काठमाडौंमा जिल्ला कमिटी गठन गरिसकेको छ । त्यस्तै कास्की, तनहुँ र लमजुङ जिल्लामा पनि कमिटी गठन गरिसकेको छ । त्यस्तै नेपाल पक्षले युवा संघ र अनेरास्ववियूमा पनि नेतृत्व चयन गरिसकेको छ । नेपाल पक्षले दुई महिने पार्टी सृदृढीकरण अभियान संचालन गर्ने घोषणा गरिसकेको छ ।