काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय लोकतन्त्रको उपहास भएको बताएका छन् ।
पार्टी परित्याग गरि एमाले प्रवेश गरेका साहले बुधबार सामाजिक संजालमार्फत पदमुक्त गर्ने प्रचण्डको कदमलाई निरंकुशताको पराकाष्ठा भनेका हुन् ।
मंगलबार माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका साहसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र लेखेको थियो ।
साहले लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’