अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै जना वयस्क नागरिकले आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् ।
उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि यो नयाँ घोषणा गरेका हुन् । यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए ।
तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा कम्तीमा १५ करोड डोज खोप लगाइसकिएको छ ।
तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो । राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।’
उनले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमितहरु बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिए । अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ ।
यहाँ अहिलेसम्म तीन करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने यहाँका ५ लाख ७० हजार भन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।