काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्याउने विषयमा छलफल भइरहेको बताएका छन् । बिहीबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छिट्टै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका हुन् । उनले त्यसका लागि आज काठमाडौंमा महत्वपूर्ण छलफल हुने बताए ।
उनले भने, ‘अहिले नै सबै कुरा राख्न त भ्याउँदिन, अहिले नै नेपालगञ्ज हुँदै काठमाडौं फर्किनुपर्ने छ । भरे काठमाडौंमा महत्वपूर्ण मिटिङ छ । तपाईंहरूलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्याउनुपर्ने छ ।’
अध्यक्ष प्रचण्डले मुलुकमा प्रतिक्रान्तिको खतरा अझै कामय रहेकाले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताए । उनले आन्दोलन, नीति, योजना र कार्यक्रम बनाउनका लागि दस्तावेज लेखनमा लागेको जानकारी दिए ।
फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने तथा नयाँ अभियान लिएर जाने जमर्को गरिरहेको उनले बताए । उनले प्रतिक्रियावादीहरूले हेप्न थालेको र उपलब्धि खोस्न खोजेको पनि बताए । अध्यक्ष प्रचण्डले प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्ने बताए ।
उनले भने, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्ने काम प्रधानमन्त्रीबाट भयो । अझै पनि प्रतिक्रान्तिका खतरा कायम छन् । यो क्रान्तिलाई बालुवाटारमा बालुवा पेलेर बचाउन सकिएन । काठमाडौंको घेराबन्दीलाई चिर्ने ताकत चाहिँ श्रमजीवी जनताबाहेक कसैसँग छैन ।’