काठमाडौं । नेकपा एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका चार सांसदलाई संसद सचिवालयले पदमुक्त गरेको छ । अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह, कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा जानकारी गराएका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भन्दै दल त्यागको सूचना मंगलबार संसद सचिवालयमा दिएका थिए। ।
त्यसको दुई दिनपछि बिहीबार सभामुखले चारै जनाको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन्। सभामुखले राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ (१) र प्रतिनिधिसभा नियमावलि २०७५ को नियम २१२ (१) बमोजिम सदनलाई जानकारी गराए ।