दर्ता नभएकाले पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा ‘गोस्ट गन’ भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गरेका छन् ।
बन्दुकबाट हुने हिंसा देशमा महामारी भएको र अन्तर्राष्ट्रिय स्तरमै लज्जाको विषय भएकाले यसलाई रोक्नु पर्ने राष्ट्रपति बाइडनले बताएका छन् । बाइडनले नयाँ निर्देशन कार्यकारी आदेश मार्फत् लागु गराँउदैछन् जसको अर्थ कङ्ग्रेसले यसलाई स्वीकृत गर्न जरुरी छैन । नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने, पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु समावेश गरिएको छ । यद्यपि राष्ट्रपतिका लागि यो सहज कार्य भने हुने छैन ।
हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ र कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा हेर्ने गरेका छन् । बुधवार साउथ क्यारोलाइनामा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो ।
घटनामा एकजना पूर्व एनएफएल खेलाडी फीलीप एडम्स जिम्मेवार रहेको बताइएको छ । त्यस्तै मार्च महिनामा पनि अमेरिकामा दुईवटा बन्दुक आक्रमण भएका थिए जसमा कुल १८ जनाको मृत्यु भएको थियो । ह्वाइट हाउसको रोज गार्डेनबाट बोल्दै बाइडनले अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने बताए ।
उनले साउथ क्यारोलाइनाको घटनामा मारिएकाहरूको परिवारलाई समवेदना पनि जनाए । बाइडनले जारी गरेको कार्यकारी आदेश अनुसार सरकारले ३० दिनभित्र घरेलु स्तरमै उत्पादन गर्न सकिने बन्दुकहरूको सङ्ख्या घटाउनका लागि नयाँ प्रावधानहरू प्रस्ताव गर्नुपर्ने हुन्छ ।
बाइडनले यस्ता बन्दुकहरू आफैँ जोडजाड गरेर बनाइने हुँदा तीनलाई पत्ता लगाउन नसकिने पनि बताए । बन्दुक बनाउनका लागि आवश्यक पर्ने सामग्री किन्नेहरूको पनि पृष्ठभूमि नहेरिने गरिएको उनले जानकारी दिए ।
विज्ञहरूले आपराधिक घटनाहरूमा घरेलु स्तरमै उत्पादन गरिएका बन्दुकहरूको प्रयोग हुने क्रम बढेको बताएका छन् । लस एन्जलसमा नियन्त्रणमा लिइएका ४० प्रतिशतभन्दा बढी बन्दुकहरू घरेलु स्तरमै उत्पादन गरिएको पाइएको सङ्घीय अधिकारीहरूले जनाएका छन्।