काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्ति गरेका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो ।
राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । चारैजनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।