काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले प्यानलसहित विजयी भएका छन् ।
पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । महासंघको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरुले गठबन्धन बनाएका थिए ।
महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरी विजयी भएका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।
महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।
उनीहरु सबै पोख्रेल समूहका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो ।





