वीरगंज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको बताएका छन् ।
आइतबार प्रेस संगठन पर्साले वीरगंजमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले सबै विपक्षी दल मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे आफूहरुले नरोक्ने बताएका हुन् ।
उनले आफूहरुको लडाइ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए । सर्वोच्च अदालतको फैसलाले नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्र ब्यूँत्याएपछि एमालेलाई एकताबद्ध बनाउन र पार्टीमा शुद्धीकरणका लागि देशभर आफूहरुले अभियान संचालन गरेको उनले बताए । नेता नेपालल त्यही अभियान अन्तर्गत जिल्ला कमिटी गठन गर्दै हिंडेको बताए ।
उनले केपी ओली एमालेमा एउटा सानो गुटको नेता मात्रै भएको आरोप लगाए । ओली गुटले आफूलाई कार्वाही गरेको निर्णय कागजमा मात्र सीमित रहेकाले कोही पनि नेता कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह गरे । उनले भने, ‘एकै जना व्यक्ति सधैं पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकताको विरोध हामीले गरेका हौं । कसैले आत्तिनु पर्दैन ।’