काठमाडौं । निजी विद्यालय संचालकले कोभिड संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्ने सरकारले तयारीप्रति भन्दै आपत्ति जनाएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन)ले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको हो ।
भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने र यसअघिको बन्दाबन्दीमा त्यो कुरा प्रमाणित भइसकेकाले बन्दको निर्णय नगर्न प्याब्सनले आग्रह गरेको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकार सँग माग गर्दछौं ।’
