काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिको गति अहिले जस्तो फेरि दुर्गति नहोला भन्ने विश्वास गर्ने आधार हराउँदै गएको बताएका छन् । सामाजिक संजालमार्फत ढुंगानाले अहिलेको राजीतिक गति हेर्दा जीवनमा पहिलो पटक मतदान गर्न उत्साहित तन्नेरीले कुन पार्टी र कस्ता उम्मेदवारलाई मतदान गर्ने भन्ने अन्यौल रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘देशको उज्ववल भविष्य अथवा राजनीतिको गति अहिले जस्तो फेरि दुर्गति नहोला भन्ने विश्वास गरी, जीवनमा पहिलो पटक मतदान गर्न उत्साहित तन्नेरीले आगामी निर्वाचनमा कुन पार्टी र कस्ता उम्मेदवारलाई मतदान गर्ने होला ?’
त्यसैगरी ढुंगानाले तक्सा विभूषण सम्मान प्रदान गर्ने चलनलाई निरन्तरता दिँदा न्यूनतम दुरुपयोग देखिने गर्न पनि सरकारलाई सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘प्रथमतः सम्मान प्रदान गर्ने कुरै होइन। तापनि तक्मा, विभूषण, सम्मान प्रदान गर्ने चलन कायम राखिन्छ भने पनि न्यूनतम दुरुपयोग देखिने अथवा सम्मान स्वयं सम्मानित हुने किसिमको हुनैपर्यो। अहिले जस्तो सरकार दलीय चश्मा फुकाल्न सक्दैन भने बरू केही समय स्थगित गर्नु बुद्धिमानी होला ।’
ढुंगानाले दलले कारबाही गरी संसद सदस्यबाट हटाएका नेतालाई फेरि मन्त्री बनाएको प्रति पनि कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘प्रतिनिधिसभा सदस्य सार्वभौम जनताको विश्वासको प्रतीक हो । दलको कार्वाहीबाट सदस्यता खारेजी सोही विश्वास विध्वंसकारी क्रुर कानून हो । यसको अन्ध कार्यान्वयन अधिकारी अविवेक र अन्यायका अझै ठूला पर्याय हुन् । कानूनी राजको हुकूम प्रमांगी । चार मन्त्री तुरुन्तै कायम ।कानून सम्मान असम्मान एकसाथ ।’