काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता हामी सबैमा हुनुपर्ने बताएका छन् ।
नयाँवर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यसका लागि आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्ने बताएका हुन् । उनले नेपाली फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नुपर्नेमासमेत जोड दिएका छन् ।
एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको भन्दै उनले एकताले मात्र सफलतामा पुग्ने बताएका छन् । उनले देशको उन्नति र अधोगति हामीहरुकै हातमा रहेको भन्दै पहिले देश र अनिमात्र आफूहरु भन्ने भावनाको अत्यावश्यक भएको बताएका छन् ।
टाठाबाठा मात्र सुखी सम्पन्न र सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्दति पनि त्याग्नै पर्ने उनले बताएका छन् ।
