
काभ्रे । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ र निरंकुश शैली त्यागेर जेठ २ गतेको स्थितिमा फर्कन आग्रह गरेका छन् ।
काभ्रेको बनेपामा आइतबार नेकपा एमाले काभ्रेको विस्तारित बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओली जेठ २ को अवस्थामा फर्किए आफूहरु मिलेर जान तयार रहेको बताएका हुन् ।
उनले केपी ओलीले दम्भ नत्यागे उनका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति आउने चेतावनी दिए । उनले ओलीको दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको बताए ।
उनले भने,‘पत्रकार महासंघको निर्वाचनमा हाम्रो गठबन्धनले जित्यो, माधव नेपालका मान्छेलाई एउटा सिटमा ल्याउन दिइने छैन भनेपछि ११ वटा संगठन एकातिर, केपी ओलीको सानो गुट एकातिर भएपछि केन्द्रीय कमिटीमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति बन्यो, धुलो चटाइदिए साथीहरुले ।’
नेता नेपालले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले उसैलाई सिध्याइदिएको तर्क गरे । उनले ओलीको शैलीको कारण यस्तो परिणाम आएको दाबी गरे । उनले भने, ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ह्वीप उल्लंघन गरी एमालेका ४ सांसदले मतदान गरेका थिए ।