
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि स्थगित भएको थियो ।
बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो । तर अझै केही जिल्लामा क्रियाशील वितरणको काम सकिएको छैन । त्यस्तै बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
कांग्रेसले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रलाई सरकार गठनमा सहयोग गरेको छ भने गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध कांग्रेसकै नेतृत्वमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेको छ । लुम्बिनी प्रदेशमा पनि अहिलेको सरकार हटाएर नयाँ सरकार बनाउने तयारीमा कांग्रेस रहेको छ ।