काठमाडौं । चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो ।
प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेको बताइएको छ । मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाटमा रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै सोमबार सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने भन्दै आदेश जारी गरेपनि बालुवाटारमा आयोजित कार्यक्रममा भने सयौंको उपस्थिति रहेको थियो ।








