काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने बताएको छ ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई क्षत्विक्षत् पार्ने उद्देश्यसहित विसर्जनवादी आक्रमण गरेको नेपालको राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको परिस्थितिमा यो प्रतिगामी सरकारलाई हटाएर प्रतिगमनका विरुद्ध संघर्ष गर्ने संविधान र लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र सम्वादलाई तीव्र रुपमा घनिभुतता दिने र छिट्टै यस सम्बन्धमा निष्कर्षमा पुग्ने भन्ने निर्णय लिइएको छ ।’
बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशित समेत गरेको छ । सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भीर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न आव्हान समेत गरेको छ ।
सरकारले संसदको अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । संसद अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कदमको अभिव्यक्तिको रुपमा लिएको नेता श्रेष्ठले बताए ।
उनले भने, ‘अधिवेशनको अन्त्यको सन्दर्भमा जसरी सरकारले हठात, अस्वभाविक ढङ्गले निर्धारित बैठकको नीति र समय निश्चित भएकै अवस्थामा र आजको अवस्थामा संसदको अधिवेशलाई प्रभावकारी र उपलब्धीमुलक बनाउनुपर्ने परिस्थितिमा संसद अधिवेशन हठात अन्त्य गर्ने काम गर्यो । त्यो अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो त्यो कदमलाई भत्र्सना पनि पार्टीले गरेको छ ।’