
काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद चरमोत्सकर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली र नेपालबीच बुधबार साँझ काठमाडौं नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो । दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएको छ ।
यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । फागुन २८ को निर्णय फिर्ता लिई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन नेपाल पक्षले माग गरेपनि ओली एकलौटी ढंगले नेताहरुलाई कारबाही गर्दै अघि बढेका छन् ।