लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलसँग निर्वाचन आयोगद्वारा स्पष्टीकरण माग

Spread the love

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नवुझाउने ८६ वटा राजनीतिक दललाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

आयोगको बैशाख ६ र ८ गतेको निर्णय अनुसार लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारण सहित ७ (सात) दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने, अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनु पर्ने, आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नु पर्ने र दलले आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधानको पालना नगर्ने राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने समय अवधि समाप्त भएको पैंतालिस दिनभित्र आयोगले लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारणबारे स्पष्टीकरण सोध्न सक्ने कानूनी व्यवस्था छ ।

राजनीतिक दलले तोकिए बमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरे बमोजिम स्पष्टीकरण पेश नगरेमा २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाराष्ट्रको जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन चुहिँदा कम्तीमा २२ जनाको मृत्यु

२०७८ बैशाख ८, बुधबार १५:३१
Spread the loveभारतको महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा १५० जना बिरामी भएका र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा […]