काठमाडौं । नक्कली पीसीआर रिपोर्टको आशंका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले फर्काइदिएको छ ।
कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको जानकारी दिएका छन् ।
मंगलबार मात्रै प्रहरीले सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारी नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा संचालक सहित आठ जनालाई पक्राउ गरेको थियो । सो हेल्थ केयरमाथि कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ ।
प्रहरीेले सो हेल्थ केयरबाट नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको थियो । प्रहरीले प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, प्रमोद कुमार यादव, प्रदीप कुमार गिरी, अमन कुमार यादव, वजेश पोख्रेल, बादल मिरिङ छिङ, सरोज क्षेत्री र डा.खेलानन्द प्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ