
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव पेश गर्दै नेता नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।
मुख्यमन्त्री गुरुङले वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाए ।
गण्डकी प्रदेश सरकार संविधानविरुद्ध रहेको भन्दै पोखरेलले यसले संविधानको अवहेलना गरेको आरोप लगाए । उनले भने, ‘संविधानको धारा १८८ मा प्रधानमन्त्री तथा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा विभाजित भएको मितिबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मुख्यमन्त्रीले त्यो व्यवस्था उल्लंघन गर्नुभएको छ ।’
सरकार अल्पमतमा गएपछि स्वाभाविक रुपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा समर्थन गर्ने दलले समर्थन फिर्ता लिइसकेपछि पनि कुर्सीमा बसिरहन खोजेको भन्दै उनले मुख्यमन्त्री गुरुङको आलोचना गरे । ६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो ।