
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति(सीसीएमसी) निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै भारतसँगका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने र बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै सरकारी कार्यालय र बैक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् ।
सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् । यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।
यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरुलाई निर्माणस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।
बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप ब्यबस्थित गर्ने निर्णय गरेको छ ।