सगरमाथा आरोहणका लागि ४३ आरोही समूहलाई अनुमति

Spread the love

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रबार जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् ।

यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोड बढी रोयल्टी जम्मा भएको छ ।

कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताइन् ।

मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् ।

कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनस्वास्थ्यका मापदण्डको कडा रुपमा पालना गर्न सर्वसाधारणमा स्वास्थ्य मन्त्रालयको अपील

२०७८ बैशाख १७, शुक्रबार २०:५१
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपील गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रबार जारी गरेको अपीलमा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका […]

समाचार छुट्याे की?