
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् । पुनःनियुक्ति पाएका मुख्यमन्त्री पोखरेलको शपथ बल प्रयोग गरेर गरिएको छ ।
पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भएपनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए । धर्ना बसेका सांसदहरु र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ ।
सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजीनामा दिएका थिए ।
मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ । हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।
तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।