काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले बुधबार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो । सर्वोच्चको आदेशमा २८ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए । त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन् । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरिसकेकी छन् ।

