बुटवल । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा पत्र बुझाएका हुन् ।
डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन् । उनले डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको बताए ।
मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिएपछि उनी थप अफ्ठेरोमा परेका छन् ।
यसअघि दाङकै विमला वली खत्री माओवादीमा प्रवेश गरेकी छन् भने कपिलवस्तुका दृघनारायण पाण्डे प्रदेश सभा सदस्यबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गरिसकेका छन् ।