
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताकाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनका लागि आग्रह गर्नु व्यर्थ हुने बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत थापाले आरोपितलाई नै छानबिन गर भन्नुको केही अर्थ नहुने बताएका हुन् । उनले संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्ने बताए ।
थापाले लेखेका छन्, ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ–जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो । जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन । संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ ।’
कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको खबर सार्वजनिक भएका छन् । यसैबीच, सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ ।
खोप ल्याउन अवरोध गरेको भनेर दण्डित हुनुपर्ने कम्पनी हुकमलाई पुरस्कृत गर्दै सरकारले नै चार गुणा बढी मूल्यमा खोप बेच्न अनुमति दिएको छ । तर, सोही मूल्यमा आउने भए पनि चिनियाँ खोपलाई भने सरकारले अनुमति दिएको छैन ।
सरकारले भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट प्रतिडोज चार डलर अर्थात् चार सय ७२ रुपैयाँमा खोप ल्याएको थियो । तर, अब भने जनताबाट प्रतिडोज १७ सय नौ रुपैयाँ शुल्क उठाउन हुकमले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएको छ ।