जेपी गुप्ता ।
विपतको यस बेलामा ७ दिन यता राष्ट्रपति, प्रधानमन्त्री, विपदा प्रवन्धनसँग सम्वद्ध विभागीय मन्त्रीहरू, नेताहरूको कामको प्राथमिकता हेरौं, दिनचर्या हेरौं, कोही फुर्सदमा छैन ।
सीमावर्ती बिहार सरकारले ७ दिनभित्र उत्पादन दिने गरी १५ वटा मानव उपयोगी अक्सिजन प्लान्ट बनाउन लागेको छ । यस मध्येका केही त नेपालसँग एकदमै नजिक छन्, जस्तोः विराटनगर–फारविसगंज १५ किलोमिटर, विराटनगर–वनमनखी ७४ किलोमिटर, भन्टाबारी–सिमरी बक्तियारपुर ११७ किलोमिटर, जनकपुर–जयनगर ४८ किलोमिटर र वीरगंज–नरकटियागंज ४४ किलोमिटर । नेपाल यसबाट लाभ लिन सक्छ, चाहेमा !
आजैको समाचार अनुसार नेपालले २०० अक्सिजन सिलिण्डरका लागि वाईडबडी जहाज चीन पठाउन लागेको छ। भारत सरकारले निर्यात अनुमति दिएपछि झारखण्ड प्रदेशबाट अक्सिजनको २ ट्यांकर नेपाल भित्रिने जानकारी आएको छ ।
विपदको बेलामा यसो गर्नु अन्यथा होइन, सबैले गरेकै हुन्छ । मरिचमान सिंहको समयमा भारतले गरेको नाकाबन्दीको बेला जहाजमा लोड गरी मट्टीतेल र डिजल आदि ल्याइएको हो। त्यसपछि पनि ।
युद्ध र आपदाले अवसर पनि प्रदान गरेको हुन्छ । बिहारले आपतको बेला पनि दीर्घकालको बारेमा सोच्यो । खास ‘नेपाली’ जातिले त आफूलाई सदैव ‘बिहारी’ भन्दा श्रेष्ठ ‘आर्य जाति’ मान्दै आएको छ । चिन्तनमा यो श्रेष्ठताको प्रवेश किन भै रहेको छैन ?
यहाँ पनि केही गरे हुन्थ्यो !