काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको छ ।
जसपाको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा आइतबार बसेको बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा सांसदहरुलाई स्वत्रन्त्रता दिने निर्णय गरेको हो ।
आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने र तटस्थ बस्ने जानकारी गराएका थिए । तर दिउँसो बसेको शीर्ष नेताको बैठकले पक्ष विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । एमालेको माधव नेपाल पक्ष सामूहिक राजीनामा दिने तयारीमा रहेकाले ओलीलाई विश्वासको मत पाउन समस्या छ ।