भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन् ।
दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ । गएका दुई–तीन दिनमा राजधानीमा संक्रमणको दर ३५ बाट २३ प्रतिशतमा झरेको भन्दै मुख्यमन्त्री केजरीवालले यसलाई अझै नियन्त्रण गर्नुपर्ने भएकाले लकडाउन खोल्ने बेला भइनसकेको बताए ।
भारतमा कोरोनाको दोस्रो लहरले आक्रान्त राज्यमध्ये दिल्ली पनि एक हो । शनिबारमात्रै दिल्लीमा १७ हजार ३६४ जना नयाँ संक्रमित थपिएका थिए भने ३ सय ३२ जना संक्रमितले ज्यान गुमाएका थिए। दिल्लीमा अप्रिल २०मा लकडाउन सुरू भएको थियो । त्यसयता लकडाउन लम्ब्याइएको हो।