काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामामा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई सहभागी नहुन सांसदहरुलाई आग्रह गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।
