
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति यो अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार भएको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफू संविधान भन्दा माथिको व्यक्ति हुँ भन्ने प्रधानमन्त्रीको दम्भले मुलुकको राजनीति अप्ठ्यारोमा परेको बताएका हुन् ।
सरकारको तीन वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्णरुपमा असफल भएको बताए । उनले आफूहरुले सरकारलाई पूर्णरुपमा सहयोग गर्दा आफूहरु आलोचित बनेको तर प्रधानमन्त्रीले त्यसलाई कमजोरीको रुपमा लिई संविधान विपरितका काम गर्दै गएको बताए । उनले यो सरकार गठन भएदेखि नै संविधान उल्लंघन भएको बताए ।
सभापति देउवाले कुनैपनि व्यक्ति प्रधानमन्त्री हुन पहिला संसद सदस्य हुनुपर्ने तर प्रधानमन्त्री ओलीले संसद सदस्यको सपथ नलिई प्रधानमन्त्रीको सपथ लिएको बताए । त्यस्तै संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा त्यसलाई अनुशरण नगरेको बताए । जनतालाई अक्सिजनसमेत दिन नसक्ने प्रधानमन्त्रीले विश्वासको मत माग्नु निर्लज्जता भएको बताए ।
जनताको जीवन रक्षामा लाग्नु पर्ने सरकार औषधि खरिदको भ्रष्टाचारमा लाग्नु अक्षम्य अपराध भएको देउवाले बताए । उनले भने,‘व्यापारी घरानालाई पोस्नु कतिसम्म सकेको ? आफ्ना जनतालाई अक्सिजनको व्यवस्था गर्न नसक्ने निरिह प्रधानमन्त्रीले आत्मप्रशंसा गर्नु कति उचित होला ?’ उनले प्रधानमन्त्रीले संविधान अनुरुप काम गरेको भए अहिलेको अवस्था सृजना नहुने र फेरि पनि दम्भ नघटेको बताए ।
उनले भने, ‘संसद विघटन गर्नुभयो । हामीले असंवैधानिक भनेर आन्दोलन गर्यौं । पुनस्थापनापछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा त्यो आवश्यकता देख्नुभएन । विधि र पद्दतिलाई ध्वस्त पार्ने प्रसस्त काम भएका छन् । राज्यका महत्वपूर्ण निकाय आफू मातहत राख्ने, हुकुमी शैलीमा शासन चलाउने काम भए । ससद छललेर अध्यादेश मार्फत शासन गर्ने दम्भ बढ्यो । काम कर्तव्य र अधिकारलाई भुलेर काम गरेको सासद अपहरण जस्ता काम भए । संविधान भन्दा म माथि हुँ भन्ने दम्भ प्रधानमन्त्रीमा छ।’
उनले कोभिड संक्रमण फैलिनुमा प्रधानमन्त्री जिम्मेवार भएको आरोप लगाए । निर्माण पूरा नभएको धरहरा उद्घाटन तामझामका कारण गरेको भन्दै उनले मान्छे भीड गरेर उहाँले कोभिड फैलाउने काम गरेको आरोप लगाए ।