
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा र्यान्समवेअर साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । साइबर हमलाकारीहरूको समूहले शुक्रवार त्यस्तो हमला गरेपछि सेवा सुरु गराउने प्रयास जारी छ । कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ ।
इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो । शुक्रवार साइबर हमलाकारीहरूले यसलाई पूर्ण अवरुद्ध पारिदिएका थिए । आपतकाल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्न सकिन्छ ।
विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २–३ प्रतिशतले बढ्न सक्छ। तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ । विभिन्न सूत्रहरूले उक्त र्यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् ।
सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए । त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए ।
फिरौती वा र्यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने तिनले धम्की दिएका छन् । कोलोनियल कम्पनीले उसले अधिकारीहरू, साइबर सुरक्षा विज्ञहरू तथा ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुनःस्थापित गर्ने काम गरिरहेको बताएको छ । आइतवार साँझ भने उसले चार मुख्य लाइनहरू अफलाइन भए पनि साना लाइन सञ्चालन गरेको बताएको छ ।
साइबर हमला गराउने आपराधिक समूहहरूमध्ये डार्कसाइड सबैभन्दा ठूलो होइन। तर यो घटनाले र्यान्समवेअरका कारण व्यापार मात्र नभई महत्वपूर्ण औद्योगिक संरचनासमेत बढ्दो खतरामा परेको देखाएको छ । साथै यसले साइबर सुरक्षा क्षेत्रले पहिले देखेको भन्दा खतरनाक किसिमका आपराधिक समूहको उदय भएको पनि देखाएको छ ।