काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गर्नसक्ने काम पनि नगरी जनता ‘मारेर’ सरकार बसिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक संजालमार्फत श्रेष्ठले अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका भएपनि सरकारले कुनै पहल नगरेको बताएका हुन् । उनले भनेका छन्, ‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आइसियु र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् । राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।’
उनले निजी अस्पतालले कोभिडका विरामी भर्ना नलिने भन्ने र सरकार त्यसको व्यवस्थाप गर्न नसक्नु दुःखको विषय भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ । यसरी गर्नसक्ने काम पनि नगरी जनता “मारेर“ बस्न कसरी सकेको छ सरकार ? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ– आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।’