
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उल्लेख गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको बताएका छन् ।
अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको भन्दै अध्यक्ष प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गरेका छन् । उनले विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गरेका छन् ।