काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर शनिबार साँझ काठमाडौं आइपुगेको छ ।
कोभिडका कारण गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको बेला एनआरएनले अक्सिजन सिलिण्डर पठाएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको संघले जनाएको छ ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्टर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर भोलि (आइतवार) नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको संघले जनाएको छ ।