काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससल कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेकोे बताएका छन् ।
शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् ।
अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए ।
डा. गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।’ नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख महिना मात्रै नेपालमा डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्ला दिनमा दैनिक आठ/नौ हजारको हाराहारीमा संक्रमित र दुई सय जनाको मृत्यु हुने गरेको छ ।
अक्सिजन नपाउँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सरकारले चीनबाट चार सय वटा अक्सिजन सिलिण्डर ल्याएको छ भने अरु खेप लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जाँदैछ । त्यस्तै गैरआवासीय नेपालीले ओमानमा जम्मा गरेका ६ सय वटा अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार ओमान गएको छ ।