इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा प्यालेस्टिनीहरूबारे द्वन्द्व चर्किएको सातौँ दिन पुग्दा रकेट आक्रमणप्रति कडा प्रतिक्रिया दिन आक्रमण जारी राख्ने बताएका छन् ।
आइतबार सबेरै गाजामा इजरायली हवाई आक्रमणका कारण कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेका थिए ।
अन्तर्राष्ट्रिय समुदायले चर्कँदो द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै चिन्ता जाहेर गरेका थिए । शनिवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठक तय गरिएको छ ।
सोमबार लडाइ शुरू भए यता कम्तीमा गाजामा १४८ जनाको मृत्यु भएको छ । इजरायलमा दुई बच्चासहित १० जना मारिएको बताइएको छ । इजरायलले गाजामा मृत्यु भएकामध्ये दर्जनौँ लडाकुहरू रहेको बताउँछन् ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये ४१ जना बालबालिका रहेको बताउँछन् । टेलिभिजनमार्फत बोल्दै प्रधानमन्त्री नेतान्याहूले आवश्यक परेसम्म कारबाही जारी रहने भन्दै नागरिक नपरुन् भनेर हर सम्भव प्रयास जारी रहेको बताए । नेतान्याहूले आक्रमणको दोषी आफूहरु नभएको बताएका छन् ।
पूर्वी जेरुसलेममा इजरेली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि गत छ दिनदेखि हिंसा चर्किएको छ । गाजामा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरेली फौज हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि प्रत्याक्रमण भएको थियो । गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरायली हवाई आक्रमणमा परेर ज्यान गएको थियो ।