इजरायल–प्यालेस्टाइन लडाइँमा आइतबार सबैभन्दा ‘घातक दिन’

Spread the love

गाजास्थित प्यालेस्टिनी अधिकारीहरूले एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रहेको बताएका छन् । इजरायली हवाई हमलामा आइतबार ४० जनाभन्दा धेरैको ज्यान गएको छ ।

इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन् । गाजास्थित प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन् । शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन् ।

आइतबार मध्यरातपश्चात् इजरायली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो । त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको थियो । हमासले राति नै दक्षिण इजरायलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो ।

दिउँसो पनि हमला जारी रह्यो । दशौँ लाख इजरायलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए । प्यालेस्टिनीहरूले पनि सावधानी अपनाउने कोसिस गरे। तर सघन बसोबास भएको गाजामा धेरैसँग अन्त जाने विकल्प थिएन । रियाद एस्कुन्तानाले रोयटर्स समाचार संस्थालाई बताएअनुसार उनले छोरीहरूलाई घरको सबैभन्दा सुरक्षित ठानिएको कोठामा सुत्न पठाएका थिए ।

तर केवल एक ६ वर्षीया छोरीमात्र बाँचिन् । उनका पत्नी तथा तीन छोरीको ज्यान गयो । गाजाका अधिकारीहरूले पछिल्ला इजरेली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको बताएका छन् ।

गत सोमबारयता इजरायलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको इजरायलले बताएको छ । हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन् ।

बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले युद्धविराम गराउनका निम्ति अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन्।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन । इजरायलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

२०७८ जेष्ठ ३, सोमबार ०९:४२
Spread the loveबार्सिलोनाको महिला टोलीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाईनलमा ईङलिश क्लब चेल्सीलाई ४–० ले हराउदै बार्साले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । स्वीडेनमा भएको फाईनलमा बार्सिलोनालाई जिताउन एलेक्सिया पटेलास, आइतना बोनमती र कारोलिन ग्राहम हान्सेनले समान एक–एक गोल गरे । अर्को गोल […]