
कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका कारण ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमणदर घटेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।
आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । हालसम्म भारतमा २ करोड ४९ लाख ६४ हजार ९२५ जना संक्रमित भएका छन् । यस्तै पछिल्ला दिनहरुमा भारतमा निको हुनेको संख्या पनि दैनिक बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । भारतमा ३५ लाख २२ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।
केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ । संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा ४ हजार ९२ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।
यसैबीच, भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।
राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।