
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासमा परेको छ । प्रधानमन्त्री ओलीलाई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका छन् ।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारीले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।