
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई सघाउन नसक्ने बताएका छन् । मंगलबार वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थापालाई निर्वाचनमा सघाउन नसक्ने बताएका हुन् । वरिष्ठ नेता नेपालको सचिवालयका अनुसार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभएको थियो ।
यस्तो छ नेता नेपालको सचिवालयले जारी गरेको विज्ञप्ति
आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।
त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते