
काठमाडौँ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।
कांग्रेस सभापति देउवाले आफूलाई १४९ सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् भने ओलीले १५३ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षरसहितको दाबी पेश गरेका छन् ।
बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको थियो । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल पक्षका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
यता नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।