काठमाडौं । राष्ट्रपतिबाट जारी भएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा यस्तो व्यवस्था गरिएको हो ।
अध्यादेशमा भनिएको छ, ‘कोभिड–१९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल वा नेपालको कुनै स्थानमा लागू हुने गरी कोभिड–१९ स्वास्थ्य आपत्काल घोषणा गर्न सक्नेछ ।’ आपत्कालमा आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिइ सञ्चालन गर्ने वा गराउने, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड १९ को निदान र उपचारको काममा लगाउन सकिने उल्लेख छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति
अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।
निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने जनाइएको छ ।